Thursday, September 18, 2008

मन्दिरमा महिला पुजारी किन हुँदैन ?


-अमिका राजथला

अधिकांश मन्दिरमा पूजा गर्न आउनेहरुको भीडमा महिला वर्गको वर्चश्व हुन्छ तर त्यहाँ पुजारी भने महिला हुँदैनन् । जहाँ पनि यस्तै दृष्यहरु देखिएपछि पुजारीको रुपमा महिला वर्जिर्त वर्ग प्रतीत हुन्छ । तर सम्वन्धित धर्मको मर्ममा लैंगिक विभेद त्याज्य देखिन्छ । आफूलाई धर्माधिकारी भनाउन चाहनेहरू पुजारीमा पुरुष मात्रै किन भन्ने प्रश्नसम्म पनि गर्दैनन् ।
महिला विभिन्न दृष्टिकोणबाट पछाडि परेको तथा महिलालाई विभेद गरिएको कुरा उठाउने वित्तिकै हिन्दू धर्ममा नारीलाई देवीको रुपमा लिइएको जस्ता कुराहरु अघि सारेर धार्मिक उदारता देखाउने गरिन्छ । तर 'हारिने निर्वाचन क्षेत्रमा महिलालाई टिकट दिएर चुनावमा उम्मेदवारी' दिलाएजस्तै मन्दिरजस्ता शक्ति केन्द्रहरुमा महिलालाई महत्वको दर्जा दिनबाट भने बञ्चित गरिएको छ ।
वैदिक कालमा महिलाहरु पनि वेद पढ्थे । पढ्ने स्वतन्त्रताका कारण तत्कालीन समयमा महिला पुरुषबीच शास्त्रार्थ चल्थ्यो । गार्गी, अपाला, उत्तरा, जावला आदि महिलाहरु उल्लेखित कोटीमा पर्ने विदूषी महिलाहरु हुन् । तर उत्तर बैदिक कालमा अनेक खालका नीति, नियम, आचार, विचारको मान्यताले ठाउँ पाउन थालेपछि महिला अधिकार र स्वतन्त्रता संकुचित हुन थालेको पाइन्छ । परिणामतः महिलाहरु हरेक क्षेत्रमा पिछडिन पुग्यो । र मात्र पुरुषहरुको सहयोगी र अबलाको रुपमा चिनाइयो । शूद्र, गवार, ढोलक आदिले जस्तै महिलाले पनि वेद मन्त्र उच्चारण गर्नु हुँदैन भन्न मान्यता कडाइका साथ मनुद्वारा स्थापित भएपछि शिक्षामा महिलाको पहुँच हुन छाड्यो । यो मान्यताको विरुद्ध जाने क्षमता नहुँदा महिलाको प्रगतिमा पूर्णाविराम लाग्यो । आर्थिक र वौद्धिक रुपले कमजोर वर्गमा धर्मप्रतिको भाव बढी नै पाइने गरेको धारणा त्रिभुवन विश्वविद्यालयमा कला र संस्कृतिसम्वन्धी प्राध्यापन गर्दै आउनु भएका विणा पौडेलको छ । सह प्राध्यापक डा. पौडेल नेपालका महिलाहरु पनि दुःखबाट मुक्त हुने आशामा बढी मन्दिर धाउने गरेको बताउनुहुन्छ ।
दक्षिणकाली मन्दिरको पूजारी ज्ञानमान कर्माचार्य महिलालाई दक्षिणकाली मन्दिरको पूजारीको रुपमा लिन नमिल्ने बताउँछन् । सो मन्दिरमा पुख्र्यौली पुजारीमा रुपमा रहेका कर्माचार्यका अनुसार पूरा तान्त्रिक विधिबाट पूजा गरिने दक्षिणकाली मन्दिरको पुजारी हुन विशेष दर्ुइ खालको दीक्षा मन्त्रको आवश्यकता पर्दछ । दीक्षा फर्पिङस्थित कोटघरमा दिइन्छ ।
सोही पुजारी खलकका महिलाहरुलाई कुनै पनि प्रकारको दीक्षा दिंदै नदिने भने होइन रहेछ । पुजारी कर्माचार्यका अनुसार नै पनि त्यहाँ दुई प्रकारको दीक्षा मन्त्र रहेको छ जसमध्ये महिलाहरु एक प्रकारको दीक्षा मन्त्रमाथि मात्र भागिदार हुन्छ । पुरुष वर्ग दर्ुव दीक्षा मन्त्र पाउन सक्ने तर महिलाले मात्र किन सक्दैन त भन्ने प्रश्नमा उनी दोश्रो मन्त्र महिला भएकै कारण नदिइने र सोही मन्त्रको अभावमा महिलाहरु पुजारी बन्न नसक्ने उत्तर सहज तरीकाले दिन्छन् ।
पुजारी कर्माचार्य भन्छन्- 'महिलालाई मन्त्र नै छैन भने उसले के मन्त्र लिने - र मन्त्र नभएपछि मन्दिरमा अन्य सम्पूर्ण काम गर्न पाएपनि पुजारीको रुपमा मन्दिरको नित्य पूजा गर्न सकिन्न ।'
त्रिभुवन विश्वविद्यालय, नेपाली इतिहास, संस्कृति तथा पुरातत्व विभागका प्रमुख प्रा. डा. मुकुन्द अर्याल महिला पुजारी हुनु हुन्न भन्ने मान्यता कुसंस्कारयुक्त भएको र यस्तो मान्यतालाई पछ्याई हिंड्न जरुरी पनि नभएको विचार राख्नु हुन्छ ।
प्रा. डा. अर्याल भन्नु हुन्छ-'शिक्षा प्राप्त गर्ने र वैदिक मन्त्र पढ्नबाट महिलालाई बञ्चित गरिएकै कारण महिला पुजारीको अवधारणा हाम्रो समाजमा विकसित हुन नसकेको हो ।' तर अहिलेका महिलाहरु शिक्षित भएकाले पनि मन्त्रोच्चारण गर्नसक्ने हुँदा पुजारी हुने क्षमता विद्यमान रहेको उहाँ स्पष्ट पार्नुहुन्छ ।
सह प्राध्यापक डा. विणा पौड्याल पनि तान्त्रिक मन्त्रहरु महिलाले पढ्न हुन्न भन्ने कुनै मान्यता नरहेको बताउनु हुन्छ । उहाँ महिला पुजारीको लागि सामाजिक रुपमा आवाज उठाउनुपर्नेमा जोड दिनुहुन्छ ।
वैदिक प्रतिष्ठानका अध्यक्ष एवं संस्कृतिविद् बलदेव जुजु पनि महिलाले पुजारी भई पूजा गर्नु हुन्न भन्ने धारणा महिलालाई अगाडि बढ्न नदिन बनाएको कुटिल चालमात्र भएको बताउनु हुन्छ । उहाँका अनुसार महिलाको लागि दिन नहुने भन्ने 'मन्त्र­' विवादित विषय भएको छ ।
उहाँको स्पष्ट कथन छ- 'पुजारीले पुरुषत्वका कारण नभई मन्त्रका कारण पुजारी भएको हो भने महिलाले पनि त्यो पाउनु पर्छ ।' तान्त्रिकतामा महिलाको सहभागी रहेपनि हरेक क्षेत्रमा जस्तै यसमा पनि पछि गएर पुरुष वर्चश्व कायम हुन गयो ।'
महिला पुजारीको व्यवस्थाका सम्बन्धमा वाधकको रुपमा प्राकृतिक नियम रजस्वला तथा गर्भवती अवस्थालाई पनि लिने गरिएको पाइन्छ । तर यो अवस्था महिलाको लागि र्सवकालिक होइनन् । यो अवस्थालाई पुजारी हुनुको वाधकको रुपमा लिने हो भने यसको खण्डन पुरुष पुजारीहरु पनि केही दिन विराएर तथा आलोपालो गरी पूजा गर्ने स्थापित परिपाटीले गर्न सक्छ ।
महिला भएकै आधारमा महिलालाई कुनै मन्त्र दिइनु हुन्न भन्ने कुरा कुनै पनि शास्त्र नलेखिएको प्रा.डा. मुकुन्द अर्याल बताउनु हुन्छ । संस्कृतिको क्षेत्रमा कृतिम व्यवधानहरु खडा गर्दा कुरितिहरुको जन्महुने भएकोले यसलाई खुल्ला गरिनु पर्ने धारणा उहाँ व्यक्त गर्नुहुन्छ । महिला पुजारीको प्रचलनको सम्वन्धमा उहाँ भन्नुहुन्छ- 'तर खुशीको कुरा, पढेलेखेका महिलाहरु प्रशस्त बढेकाले अब महिला पुजारी बन्न दिने वातावरण पनि तयार भएको छ ।'

No comments: